काठमाडौँ। शहरका मूख्य बजारहरुमा ठूला होर्डिङ बोर्ड तथा डिजिटल डिस्प्ले। युवाको सिधा नजरमा पर्न एनपिएल जस्तो युवामाझ लोकप्रिय क्रिकेट फ्रेन्चाइजको प्रायोजन। सेमिनार, गोष्ठी, ओरियन्टेसनदेखि सामाजिक सञ्चजालहरुमार्फत निरन्तरको प्रचार।
किशोरसुलभ मनस्थिति भएका आम विद्यार्थीलाई सहजै मोहित पार्न सक्ने आर्कषक रुपमा डेकोरेट गरिएको सुविधासम्पन्न भवन, रिसेप्नदेखि बेलाबेलामा गरिने कन्सर्टसम्म। र, यी सबैमार्फत दोहोर्याइरहने एउटै कुरा नेपालमै अमेरिकी डिग्री।
प्रसंग हो, काठमाडौँको भक्ति थापा रोड अर्थात् थापागाँउमा रहेको प्रेसिडेन्सियल ग्य्राज्युएट स्कुलको।
विदेशी सम्बन्धनप्राप्त अन्य कलेजलेझैँ प्रेसिडेन्सियलले समेत अमेरिकी विश्वविद्यालयको डिग्रीलाई ‘ग्लोबल रिकग्निसन्’ र ‘इन्टरनेश्नल डिग्री’, ‘इन्टरनेश्नल करियर’ जस्ता नारासहित प्रचार गर्ने गरेको छ।
सबै प्लेटफर्ममार्फत दिइएको त्यस्ता नारा र गरिएका प्रचार देखेरै विद्यार्थीहरु प्रेसिडेन्सियल ग्य्राज्युएट स्कुलतर्फ आकर्षित भएको देखिन्छ।
तर, अमेरिकी डिग्री भन्ने प्रचार हेर्दा जति आर्कषक छ, त्यसको वास्तविक्ता भने फरक छ। अमेरिकी डिग्रीको नाममा विद्यार्थीहरु ‘ठग्गिरहेको’ अवस्था छ।
प्रेसिडेन्सियल कलेजको साझेदार विश्वविद्यालय हो वेस्टक्लिफ युनिर्भर्सिटी। वेस्टक्लिफ युनिर्भर्सिटी अमेरिकाको ‘प्राइभेट फर प्रोफिट’ विश्वविद्यालय हो । अर्थात्, यो नाफा कमाउन खोलिएको निजी विश्वविद्यालय हो। यस विश्वविद्यालयलाई सञ्चालनका लागि अमेरिकी सरकारले अनुदान दिँदैन र यो विद्यार्थीबाट असुल गरिने शूल्कबाटै चलेको हुन्छ।
यद्यपि, वेस्टक्लिफ युनिर्भर्सिटी अमेरिकी निकायहरुबाट कानुनी मान्यता प्राप्त शैक्षिक संस्था भने पक्कै हो । हो, यही कानुनी आधारलाई नै देखाएर नेपालमा प्रेसिडेन्सियल कलेजले विद्यार्थीहरु भर्ना गरिरहेको देखिन्छ। तर यहाँनेर विद्यार्थीहरुले बुझ्नुपर्ने कुरा के हो भने विश्वविद्यालयको कानुनी मान्यता हुनु र विश्वका उत्कृष्ट अनुसन्धान गर्ने ल्याकत राख्ने वा अनुसन्धानकर्ता उत्पादन गर्ने विश्वविद्यालयहरूको श्रेणीमा पर्नु एउटै कुरा होइन।

अमेरिकामा विश्वविद्यालयहरूको अनुसन्धान क्षमता मूल्याङ्कन गर्न व्यापक रूपमा प्रयोग हुने कार्नेगी क्लासिफिकेसन (वर्गीकरण) प्रणालीले विश्वविद्यालयहरूलाई अनुसन्धान गतिविधिका आधारमा वर्गीकरण गर्छ। यसमा आर-१ (भेरी हाई रिसर्च एक्टिभिटी) र आर-२ (हाई रिसर्च एक्टिभिटी) लाई अनुसन्धानमा अग्रणी विश्वविद्यालयका रूपमा हेरिन्छ।
कार्नेगीले सन् २०२५ मा सार्वजनिक गरेको पछिल्लो वर्गीकरण अनुसार वेस्टक्लिफ युनिभर्सिटी आर-१ वा आर-२ मध्ये कुनै पनि सूचीमा पर्दैन। यसको संस्थागत वर्गीकरण ‘स्पेसल फोकस- बिजनेस’ रहेको देखिन्छ। यसले विश्वविद्यालयको मुख्य केन्द्र व्यवसाय तथा पेशामुखी शिक्षातर्फ रहेको संकेत गर्छ, अनुसन्धानमुखी विश्वविद्यालयको रूपमा होइन।
कार्नेगीको मापन प्रणालीमा वेस्टक्लिफ युनिर्भर्सिटी ‘तल्लो श्रेणी’को विश्वविद्यालय हो।

शिक्षाको सुदृढीकरणको उद्देश्यसहित सन् १९०६ मै स्थापित कार्नेगी फाउण्डेसन अमेरिकासँगै विश्वभर निकै प्रतिष्ठित छ। विश्वका धेरै विश्वविद्यालयहरु, रिसर्च सेन्टर लगायतका प्राज्ञिक थलोहरुले मात्र हैन ठूला कर्पोरेट कार्यलयहरुले समेत कार्नेगीको वर्गिकरणलाई मानकका रुपमा हेर्ने गर्छन्। कार्नेगीले रिकग्नाइज नगर्ने भएकाले वेस्टक्लिफको डिग्रीलाई उनीहरुले ‘धेरै भ्यालु’ दिँदैनन्।
विश्वव्यापी र्याङ्किङमा हेर्दा पनि वेस्टक्लिफको उपस्थिति सीमित देखिन्छ। टाइम्स हायर एजुकेसनको वर्ल्ड युनिभर्सिटी र्याङ्किङ्स मा २०२५ को सूचीमा वेस्टक्लिफ ८०१ देखि १००० को स्थानमा समावेश छ। तर क्यूएस वर्ल्ड युनिभर्सिटी र्याङ्किङ्स तथा साङ्घाई एकेडेमिक र्याङ्किङ अफ वर्ल्ड युनिभर्सिटिज जस्ता अन्य प्रमुख र्याङ्किङ्समा भने सूचीकृत देखिँदैन।

वेस्टक्लिफको मूख्य क्याम्पस भवन अमेरिकाको क्यालिफोर्नियामा छ भने अमेरिकाका केही शहरहरुमा यसका कलेजहरु छन्। यसबाहेक क्यानडामा यसको उपस्थिति देखिन्छ। तर नेपालबाहेक अन्य कुनै पनि मुलुकको कुनै पनि कलेजले वेस्टक्लिफबाट सम्बन्धन लिएका छैनन्। यसबाट वेस्टक्लिफ ‘सम्बन्धन दिने स्तरको’ विश्वविद्यालय समेत होइन भन्ने प्रष्ट हुन्छ।

यस्ता तथ्यहरूले एउटा गम्भीर प्रश्न उठाउँछ। नेपालमा ‘अमेरिकन डिग्री’, ‘ग्लोबल रिकग्निसन’ र ‘इन्टरनेशनल करियर’ जस्ता आकर्षक नारासहित गरिने प्रचारले विश्वविद्यालयको वास्तविक शैक्षिक स्तर, अनुसन्धान क्षमता, विश्वव्यापी प्रतिष्ठा तथा स्नातकपछि विद्यार्थीले प्राप्त गर्ने ज्ञान, सीप र अवसरलाई कति यथार्थ रूपमा प्रतिबिम्बित गर्छ?
उच्च शिक्षा केवल प्रमाणपत्र (सर्टिफिकेट) प्राप्त गर्ने माध्यम मात्र होइन, आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ), अनुसन्धान क्षमता, समस्या समाधान गर्ने दक्षता, नेतृत्व विकास र समाज तथा अर्थतन्त्रमा योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्ने प्रक्रिया पनि हो। त्यसैले कुनै पनि विदेशी विश्वविद्यालयको मूल्याङ्कन गर्दा ‘अमेरिकन डिग्री’ भन्ने ब्रान्डभन्दा बाहिर गएर त्यसको अनुसन्धान क्षमता, शैक्षिक गुणस्तर, स्नातकहरूको रोजगारी अवस्था, उद्योग क्षेत्रमा स्वीकार्यता (इम्प्लोयर रिकग्निसन) र समाजमा परेको प्रभावलाई समेत आधार बनाउनुपर्ने आवश्यकता देखिन्छ।
यदि कुनै कार्यक्रमले विद्यार्थीलाई विश्वस्तरीय ज्ञान, अनुसन्धान क्षमता, व्यावसायिक दक्षता र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न पर्याप्त योगदान दिन सकेन भने त्यसले अन्ततः केवल डिग्रीधारी तर सीप र अवसरको अभाव झेलिरहेका जनशक्ति उत्पादन गर्ने जोखिम बढाउन सक्छ।
त्यसैले विद्यार्थीहरुले ‘अमेरिकन डिग्री’ को प्रचारको रणभुल्लमा नपरी आफूले पढ्न खोजेको कलेज कुनै विश्वविद्यालयबाट सम्बन्धनप्राप्त हो, त्यहाँ पढ्दा आफ्नो शैक्षिक भविष्य, डिग्रीको भ्यालु, आलोचनात्मक चेतको विकास, रोजगारी प्राप्तिमा सघाउ पुर्याउँछ जस्ता कुराहरुमा विचार गरेर मात्र कलेज रोज्नुपर्दछ।