• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

हुथी-साउदी तनाव फेरि चर्कियो, यमनमा चार वर्षअघिको युद्ध पुनः सुरु हुने खतरा

काठमाडौँ । अमेरिका र इरानबीच युद्ध सुरु हुँदा नै इरान समर्थित हूथी विद्रोही पनि त्यसमा सक्रिय रूपमा संलग्न हुन सक्ने अनुमान गरिएको थियो । करिब पाँच महिनापछि त्यो आशंका वास्तविकतामा परिणत हुने संकेत देखिएको छ ।

पछिल्लो एक सातायता हुथी विद्रोहीले साउदी अरेबिया र रेड सी क्षेत्रमा सञ्चालन भइरहेका जहाजमाथि मिसाइल र ड्रोन आक्रमण गरेका छन् । त्यसको प्रत्युत्तरमा साउदी नेतृत्वको सैन्य गठबन्धनले पनि हुथी नियन्त्रणमा रहेका क्षेत्रमा हवाई आक्रमण सुरु गरेको छ ।

यससँगै सन् २०२२ को युद्धविरामपछि रोकिएको यमनको गृहयुद्ध फेरि भड्किने जोखिम बढेको छ । हुथी विद्रोहीले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गरेका छन् भने दुवै पक्षबीचको सैन्य गतिविधि तीव्र बन्दै गएको छ । यसले मध्यपूर्वमा अर्को ठूलो द्वन्द्व सुरु हुने चिन्ता बढाएको छ ।

पछिल्लो तनावको सुरुआत जुलाई १३ मा भएको बताइएको छ । इरानबाट केही हूथी नेताहरू यमन फर्किने क्रममा उनीहरू सवार विमानलाई साउदी समर्थित यमन सरकारले राजधानी सनास्थित विमानस्थलमा अवतरण गर्न अनुमति दिएन । सरकारले ती नेताहरूले यमनको राष्ट्रिय वायुसेवाबाट मात्रै फर्किनुपर्ने अडान राख्यो भने हूथी पक्षले इरानी विमानलाई नै सनामा अवतरण गराउनुपर्ने माग गर्‍यो । त्यसपछि सरकार समर्थित सेनाले विमान अवतरण हुन नदिन विमानस्थलको धावनमार्गमा बम प्रहार गरेको बताइएको छ ।

फलस्वरूप उक्त विमानले सना विमानस्थलमा अवतरण गर्न नसकी हूथीको नियन्त्रणमा रहेको हुदैदाह विमानस्थलमा अवतरण गरेको थियो । त्यसलगत्तै हूथी विद्रोहीले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेका हुन् ।

फेब्रुअरीमा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गर्दा हूथी विद्रोही प्रत्यक्ष रूपमा युद्धमा सहभागी भएका थिएनन् । तर अमेरिका–इरानबीचको युद्धविराम भंग भएपछि उनीहरूको रणनीतिमा परिवर्तन आएको विश्लेषण गरिएको छ । विशेषज्ञहरूका अनुसार इरानले हूथीलाई सक्रिय भूमिका खेल्न दबाब दिएको हुन सक्छ । साथै हूथीले पनि यमनभित्र आफ्नो राजनीतिक प्रभाव र शक्ति विस्तार गर्ने अवसरका रूपमा यो अवस्थालाई उपयोग गर्न खोजिरहेको विश्लेषण गरिएको छ । सन् २०२२ मा संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामपछि साउदी अरेबिया र हूथी विद्रोहीबीचको युद्ध लगभग रोकिएको थियो । स्थायी शान्ति सम्झौताका लागि वार्ता भए पनि कुनै ठोस निष्कर्ष निस्किएको थिएन ।

यद्यपि दुवै पक्ष ठूलो युद्धबाट जोगिन प्रयासरत थिए। अहिले अमेरिका–इरान तनाव बढेसँगै यमनको अवस्था फेरि जटिल बन्दै गएको छ । साउदी अरेबिया अहिले हूथीसँग अर्को युद्धमा जान इच्छुक नरहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ । सन् २०१५ देखि सुरु भएको करिब एक दशक लामो युद्धमा साउदीले अर्बौं डलर खर्च गरे पनि निर्णायक सफलता हासिल गर्न सकेन । उक्त युद्धका कारण लाखौं यमनी नागरिक भोकमरी, रोग र हिंसाको सिकार भएका थिए भने साउदीको अन्तर्राष्ट्रिय छविमा पनि असर परेको थियो ।

तर हूथी विद्रोहीले भने साउदीमाथि थप दबाब सिर्जना गरेर यमनको तेलबाट हुने आम्दानीमा ठूलो हिस्सा तथा देशको राजनीतिमा थप प्रभाव स्थापित गर्न चाहेको बताइएको छ ।

हूथी विद्रोही सुरुमा उत्तरी यमनका पहाडी क्षेत्रमा सक्रिय एउटा सानो शिया समूह थिए । सन् २०११ को अरब आन्दोलनपछि यमनमा राजनीतिक संकट गहिरिँदै गएपछि उनीहरूले शक्ति विस्तार गर्ने अवसर पाए । सन् २०१४ मा हूथी विद्रोहीले राजधानी सना कब्जा गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई हटाएका थिए । त्यसपछि राष्ट्रपति अब्दरब्बुह मन्सुर हादी साउदी अरेबियामा शरण लिन बाध्य भएका थिए । यसपछि साउदी अरेबियाले आठवटा अरब राष्ट्रको सैन्य गठबन्धन बनाएर सन् २०१५ मा हूथीविरुद्ध युद्ध सुरु गरेको थियो ।

सन् २०२२ को युद्धविरामपछि स्थायी शान्तिको सम्भावना देखिएको थियो । तेल आम्दानी बाँडफाँट र सरकारी कर्मचारीको तलबलगायत विषयमा दुवै पक्षबीच सहमति नजिक पुगेको बताइएको थियो । तर सन् २०२३ मा गाजा युद्ध सुरु भएपछि हूथीले हमासको समर्थन गर्दै रातो समुद्र हुँदै गुड्ने जहाजमाथि आक्रमण थाले । त्यसको जवाफमा अमेरिका र उसका सहयोगी राष्ट्रहरूले हूथीका सैन्य अड्डामाथि हवाई आक्रमण गरेपछि शान्ति प्रक्रिया रोकिएको थियो ।

हूथी नेतृत्वले शान्ति वार्ताका क्रममा भएका प्रतिबद्धता साउदी अरेबियाले पूरा नगरेको आरोप लगाएको छ । विशेषगरी हूथी नियन्त्रणमा रहेका क्षेत्रमा सरकारी कर्मचारीको रोकिएको तलब पुनः सुरु नगरेको उनीहरूको दाबी छ । साउदी अरेबियाले भने ती आरोप अस्वीकार गर्दै आफू यमनमा स्थायी शान्तिको पक्षमा रहेको जनाएको छ । साउदी पक्षले हिंसाको बाटो रोज्ने काम हूथी विद्रोहीले गरिरहेको र त्यसको असर यमनका सर्वसाधारण नागरिकले भोग्नुपरेको आरोप लगाएको छ ।