• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

मोरङमा डिजे बजाउन निषेध

मोरङ । मोरङमा डिजे बजाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले अनिश्चितकालका लागि जिल्लाभर कुनै पनि उत्सवमा डिजे बजाउन निषेध गरिएको सूचना जारी गरेको छ ।

‘कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको छ,’ सूचनामा भनिएको छ।

छिमेकी जिल्ला सुनसरीमा डिजेकै कारण दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु र केही घाइते भएको घटनाकैबीच मोरङ प्रशासनले डिजे बजाउन निषेध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जारी गरेको सूचनामा डिजेको प्रयोग गरिएको पाइएमा कारबाही हुने जनाइएको छ। सूचनामा भनिएको छ, ‘यो सूचना विपरीत कसैले यसको प्रयोग गरे, गराएको पाइएमा कानुन बमोजिम कारबाही गरिने बेहोरा सम्पूर्ण जिल्लाबासीहरूमा जानकारी गराइन्छ।’