सरदर मितिभन्दा अगावै भित्रियाे मनसुन

काठमाडाैं । याे वर्ष नेपालमा समाय अगावै मनसुन भित्रिएकाे छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली आइतबार जुन ५ तारिखका दिन नेपाल प्रवेश गरेकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ मा याे वर्षकाे मनसुनकाे आगमन भएको छ । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिएकाे महाशाखाले जनाएकाे छ ।

नेपालको अन्य भू-भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको महाशाखाका माैसमविद् बताउँछन् ।

नेपालमा चार किसिमका मौसमी प्रणाली सक्रिय हुन्छन् जसमा बंगालको खाडीबाट मनुसुनी वायु आउनुअघिको प्रि– मनुसन, मनसुन, पोस्ट मनुसन र हिउँदमा पश्चिमी वायुले प्रभाव पार्छ ।

हामी बंगालको खाडीबाट आएको मनसुनी वायुले वर्षा भयो भन्छौँ, जुन हिन्द महासागरको दक्षिण गोलार्धबाट उत्पन्न भएर आउने हो । मौसमविदका अनुसार मनसुनी वायु दक्षिणी गोलार्धबाट अफ्रिका महादेशको पूर्वी किनार हुँदै भारतको केरला आइपुग्छ ।

त्यहाँदेखि एक भाग छुट्टिएर उत्तरपश्चिम भारत र पाकिस्तानतिर जान्छ । आधा वायु भारतीय भूमि पार गर्दै बंगालको खाडीमा आइपुग्छ र बंगालको खाडीमा बनेको सिस्टमले त्यसमा पानीको मात्रा बढाउँछ । बंगालको खाडीबाट आधा मनसुनी वायु म्यानमारतर्फ जान्छ भने आधा पूर्वी नेपाल हुँदै नेपाल पस्छ । यो मनसुनी चक्र हरेक वर्ष यसरी हुने गर्दछ ।

कस्तो रहन्छ नेपालमा याे वर्षकाे मनसुन?

यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने विज्ञहरूको पूर्वानुमान छ । माैसम पूर्वानुमान महाशाखाका माैसमविद्हरुका अनुसार यस वर्ष मधेश प्रदेश र बागमती प्रदेशको दक्षिणी भेगमा औसत पानी परे पनि बाँकी भूभागमा औसतभन्दा बढी वर्षा हुने ठानिएको छ ।

नेपालमा हरेक वर्ष मनसुन जुन १३ बाट प्रवेश गरेर अक्टोबर २ मा बाहिरिने गर्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१