
काठमाडाैं । काठमाडौंको टेकुस्थित पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
आइतबार साँझ ५ बजे काठमाडौं महानगरपालिका-१२ टेकुस्थित कनक पम्पमा ट्यांकीमा विस्फोट हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएकाे छ ।
इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास बिस्फोट भएको बताइएकाे छ । खाली भइसकेको ट्याङ्की ग्यासले भरिएको र ढक्कन वेल्डिङ गर्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ ।
विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका-३ घर भइ काठमाडौंको कालिमाटी बस्ने ३० वर्षीया किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते छन् ।
किशोरीको बायाँ खुट्टा जलेर फ्र्याक्चर भएको र दाहिने खुट्टा, अनुहार दुबै हात र छाती जलेको छ । त्यस्तै, शाहको बायाँ गालामा पोलेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । उनीहरू दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।