• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सेयर बजारमा १२.८९ अंकको गिरावट, १ अर्ब २७ करोडकाे कारोबार

काठमाडौं । साताको पहिलो कारोबार भएको सोमबार शेयर बजारमा गिरावट आएको छ । सोमबार नेप्से १२.८९ अंकले घटेर २०६५.८२ विन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएका २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको छ । सोमबार कारोबारमा ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

नेप्सेका १३ उपसमूहमा ७ उपसमूहको सूचक नकारात्मक छन् भने ६ वटा उपसमूहको सूचक सकारात्मक रहेको छ। जसमा सबैभन्दा बढी माइक्रोफाइनान्सको ०.५३ प्रतिशतले बढेको छ भने बाँकी सकारात्मक कारोबार भएका उपसमूहको ०.५० प्रतिशत भन्दा कमले बढेको छ । यता बैंकिङ उपसमूहको सूचक सबैभन्दा धेरै १.३२ प्रतिशतले घटेको छ।

सोमबार कारोबारमा उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने हिमालयन बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ । महुली लघुवित्तको ७.६६ प्रतिशत, नेपाल लाइफको ३.९२ प्रतिशत र मनकामना लघुवित्तको ३.९२ प्रतिशतले घटेको छ ।

सोमबार कारोबारको आधारमा एशियन लाइफ कम्पनीको सबैभन्दा धेरै ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ६ करोड ७९ लाख बराबरको शेयर कारोबार भएको छ ।