
काठमाडौं । अनलाइन गेम पब्जीको लतमा परेका १६ वर्षीय किशोरले गेम खेल्न रोक्दा आमाको गोली हानी हत्या गरेका छन् । घटना भारतस्थित लखनऊको यमुनापुरम कोलोनीको हो ।
समाचार एजेन्सी पिटिआइका अनुसार एक महिला लखनऊको पिजिआई पुलिस स्टेशन अन्तर्गत यमुनापुरम कोलोनीमा आफ्ना दुई बच्चाहरूसँग बस्दै आएकी थिइन् । महिलाका पति जुनियर कमिशन्ड अफिसर हुन् र हाल उनी पश्चिम बंगालमा कार्यरत छन् ।
प्रहरीका अनुसार किशोर पब्जीको लतमा रहेका छन्। उनले यो खेल खेल्न आमाले रोक्दै आएको प्रहरीसमझ बताएका छन् । त्यसैले उनले बुवाको लाइसेन्स रहेको पेस्तोलले आमालाई गोली हानेर हत्या गरे । प्रहरीका अनुसार हत्यामा प्रयोग भएको पेस्तोल बरामद भएको छ ।
प्रहरीले मंगलबार महिलाको क्षतविक्षत शव फेला पारेको जनाएको छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । किशोरलाई नियन्त्रणमा लिइएको छ ।
उनले आमाको हत्या गरी शव घरको कोठामा थुनेर राखेका प्रहरीले जनाएको छ। गोली चल्दा उनकी ९ वर्षीया बहिनी पनि त्यहीँ थिइन् । तर, उसले बहिनीलाई यो कुरा कसैलाई नभन नत्र नतिजा नराम्रो हुने भन्दै धम्क्याएको थियो। बालकले शवबाट निस्कने दुर्गन्धलाई कम गर्न रुम फ्रेसनर प्रयोग गरेको पनि प्रहरीले जनाएको छ ।