मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुको विकल्प सरकारसँग छैन : झलनाथ खनाल

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्नुको विकल्प सरकारसँग नभएको बताएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यस्तो बताएका हुन् ।

आफ्नो पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा उनले आपत्ति जनाएका छन् । आफ्नो पार्टीले मन्त्री हेरफेर गर्ने निणर्य गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनले बताए ।

‘मैले धेरै पटक यसको जवाफ दिईसकें । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन,’ उनले भने ।

नेता खनालले बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरु नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गरेका छन् ।