
काठमाडाैं । मुस्लिम धर्मावलम्बीको भावनामा ठेस पुग्ने गरी पैगम्बर मोहम्मदको आलोचना गरी भारतीय जनता पार्टी (भाजपा) नेत्री नूपुर शर्माले दिएको विवादित बयानले हिंसा भड्किएको छ ।
मुस्लिम समुदायले विवादित बयानविरुद्ध देशभर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको छ ।
राँचीमा भएको हिंसात्मक प्रदर्शनमा गम्भीर घाइते भएका २ जनाको राजेन्द्र आयुर्विज्ञान संस्थान (रिम्स) मा उपचारका क्रममा मृत्यु भएको छ भने ८ जना घाइतेको उपचार जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राँचीमा प्रदर्शन उग्र भएपछि भीडलाई तितरवितर गर्न प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरी जवान समेत घाइते भएका जनाइएको छ ।
प्रदर्शन बढ्दै गएपछि प्रशासनले शहरभरि कर्फ्यू आदेश जारी गरेको छ । हिंसाग्रस्त क्षेत्रमा कतिपय व्यक्तिले हनुमान चालिसा पाठ गरेका छन् ।