गठबन्धनले हामीलाई ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न सकेन : नेता खनाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताएका छन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मुल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको बताएका हुन् ।

उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो बिजयी हासिल गरेको दाबीसमेत गरे । १५ वडामा पनि तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चूनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनकाे भनाइ छ ।

खनालले बिद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोषा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउदै लैजानुपर्ने धारणा राखे । काठमाडौंको मेयरमा नयाँ मान्छे बिजयी भएकाले सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जनप्रतिनिधिले जनताको भावना अनुसार घोषणापत्रमा उल्लेख विषयलाई कार्यान्वयन गराउन ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।