नेपालसहित १३ देशका राजदूतलाई भाजपा मुख्यालयमा स्वागत

काठमाडाैं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नेपालसहित १३ देशका राजदूतलाई आफ्नो मुख्यालयमा स्वागत गरेको छ ।

विदेशमन्त्री एस जयशंकरको नेतृत्वमा भारतका लागि १३ देशका राजदूतले नयाँदिल्लीस्थित दिनदयाल उपाध्याय मार्गमा रहेको भाजपा मुख्यालय भ्रमण गरेका हुन् ।

भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले नेपालसहित अष्ट्रिया, क्रोएसिया, चेक रिपब्लिक, इस्टोनिया, फिनल्याण्ड, जमैका, लिथुआनिया, मोरिसस, सर्बिया, स्पेन, थाइल्याण्ड र बेलायतका राजदूतलाई मुख्यालयमा स्वागत गर्दै पार्टीको दृष्टिकोण, नेतृत्व र कार्यक्रमबारे जानकारी गराएका थिए ।

विदेशमन्त्री जयशंकरले ‘भाजपालाई बुझौं’ अभियानअन्तर्गत राजदूतहरुलाई बोलाएर मोदी सरकारको ८ वर्षको अवधिमा भारतमा भएको परिवर्तन र पार्टीका विभिन्न गतिविधिहरूबारे चर्चा गरिएको उल्लेख गरेका छन् । कार्यक्रममा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि सहभागी थिए ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भाजपालाई बुझ्ने अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको बताएका छन् । अन्य राजदूतहरु पनि मोदी सरकारले हासिल प्रगतिको प्रशंसा गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१