
बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ ।
सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिकाका–१३ र दोगडाकेदार गाउँपालिकाका एकको नागरिकता केरमेट गरेको पाइएको हो । कुनैको प्रतितिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र केहीको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
जन्ममिति सच्याएर केहीले विसं २०५२ देखि तथा केहीले २०७६ सालदेखि भत्ता लिइरहेका खुल्न आएको छ ।
यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकालाई अहिलेसम्म लिएको रकमको दोब्बर असुल उपर गरिने भारतीले बताए । यस्तै, नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐन अन्तर्गत थप कारबाही हुने जनाइएको छ ।
यसरी नागरिकता केरमेट गर्नेहरुको नामावली भर्ने सार्वजनिक गरिएको छैन ।
उनीहरुलाई नियन्त्रणमा लिएर जरिवाना तथा कारबाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।