घनश्याम भुसालले भने- कांग्रेसले नेपाललाई युक्रेनकाे बाटाेतर्फ धकेल्याे

काठमाडाैं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रमुख सत्तारुढ नेपाली कांग्रेसको नेतृत्वमा नेपाल युक्रेनको बाटोतर्फ धकेलिएकाे बताएका छन् ।

‘कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो’ शीर्षकको अन्तरक्रिया कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ल्याएर कांग्रेसले नेपाललाई युक्रेनको बाटोमा लान खाेजेकाे बताएका हुन् ।

भुसालले भने, ‘कम्युनिष्ट फुटेपछि के हुँदो रहेछ? हेर्नुस् त अमेरिकाबाट नेशनल गार्ड ल्याउँछु भनेर लागेको कांग्रेसले शासन गरेको छ । चीनको आँगननजिकै लगेर विषालु सर्पको खेती गर्ने योजनामा छ कांग्रेस, ती सर्प चीनतिर फर्किएपछि फ्वाँफ्वाँ गर्लान् । हामीलाई कांग्रेसले जेलेन्स्कीकाे बाटोमा लाँदैछ । जेलेन्सकीलाई त हतियार दिए तर हामीलाई त कसैले केही दिँदैनन् ।’

उनले २०३२ सालमै खम्पा विद्रोह जन्माउने नाममा अमेरिकी सेना नेपालमा आइसकेको स्मरण पनि गरे ।

भुसालले नेपालमा अन्तर्राष्ट्रिय भूराजनीतिक संकट खुट्टैमुनि आइपुगेको पनि बताए । ‘नेपालमा अन्तर्राष्ट्रिय भूराजनीतिक संकट हाम्रो खुट्टामुनि आइपुगेको छ’, उनले भने, ‘हामीलाई रिस उठेर संसद उडाइदिँदा यो संकट आएको हो । यसको दोष हामी कम्युनिष्टहरुले नै लिनुपर्छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१