ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच ‘मर्जर’ सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच ‘मर्जर’ सम्झौता भएको छ । आज (बिहीबार) बिहान होटल याक एन्ड यतीमा मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहने सहमति भएको छ । त्यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्यांकनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोहीअनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा ‘क’ वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । मर्जरपश्चात् बैंकको कुल पुँजीकोष ५२ अर्ब २९ करोड, चुक्ता पूँजी ३४ अर्ब ४१ अर्ब करोड, कुल निक्षेप ३ खर्ब ८४ अर्ब, कुल कर्जा ३ खर्ब ८० अर्बसहित कुल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ ।

दुवै बैंकले जेठ मसान्तसम्ममा ६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् । दुई बैंकहरूको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ३७ लाखभन्दा बढी ग्राहकहरूसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१