
काठमाडौं । मंकीपक्सको आशंकामा निगरानीमा रहेका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ ।
मंकीपक्सको आशंकामा निगरानीमा रहेका २६ वर्षीय युवकमा कुष्ठरोगको जीवाणु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गरी मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोगको जीवाणु भेटिएको जानकारी दिएकी हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा मंकीपक्सको कुनै पनि संक्रमण पुष्टि भएको छैन । अहिलेसम्म विश्वका २९ वटा देशमा मंकीपक्स देखा परेको र एक हजारभन्दा बढी संक्रमित भएका छन् ।
दुबईबाट नेपाल फर्किएका एक व्यक्तिलाई मंकीपक्सको आशंकामा बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । ती व्यक्तिलाई ज्वरो पनि आएको र हातमा बिमिरा पनि देखिएकाले एयरपोर्टबाट सिधै टेकु अस्पताल पठाइएको थियो ।