
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ ।
आइतबार तीनकुनेस्थित रोयल व्यांक्वेटमा तेस्रो केन्द्रीय समितिको बैठक बस्नुअघि विवाद सुरु भएको थियो ।
पदाधिकारी चयनमा असन्तुष्ट विद्यार्थी नेता पवन कार्कीको समूहले हलमा नाराबाजी गरेपछि तनाव सुरु भएको प्रत्यक्षदर्शी नेताहरुले बताएका छन् । विवादले उग्र रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर बैठक स्थल खाली गराएको थियो ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । यद्यपि विवादपछि प्रचण्ड आउने वा नआउने टुंगो छैन ।
पदाधिकारी चयन उचित तरिकाले नभएको भन्दै अखिल क्रान्तिकारी भित्र नेता पवन कार्कीले समानान्तर गतिविधि अगाडि बढाइरहेका थिए । अनुशासनहीन काम गरेको भन्दै अखिल क्रान्तिकारीले कार्कीलाई संगठनबाट निलम्बन गरेको थियो ।