युएईका राजपरिवारका सदस्यको औपचारिक कार्यक्रममा गृह मन्त्रालयले लगायाे रोक

झापा । झापामा रहेका युएईका राजपरिवारका एक जना सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम सहभागी हुने औपचारिक कार्यक्रममा गृह मन्त्रालयले रोक लगाएको छ ।

मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निमन्त्रणामा युएईका राजपरिवारका सदस्य शनिबार नेपाल आएका थिए । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै झापा गएका थिए ।

उनी प्रसाईंले खोलेको मेडिकल कलेजका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । युएईका राजपरिवारका सदस्यको उक्त भ्रमणबारे नेपाल सरकारलाई औपचारिक जानकारी दिइएको थिएन ।

त्यसैले निजी भ्रमणमा औपचारिक र सार्वजनिक कार्यक्रम गर्न नमिल्ने भन्दै गृहको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

युएईका राजपरिवारका सदस्यले झापाका कचनकवल र भद्रपुरमा मस्जिद, विश्वविद्यालय शिलान्यास गर्नेजस्ता कार्यक्रम तय भएका थिए । ती कार्यक्रममा गृहले रोक लगाइदिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१