
काठमाडाैं । भारतीय राजदूतावास, काठमाडैंले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थपतिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनाएकाे छ । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दवैलाई सकारात्मक उर्जा दिने र योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने उल्लेख गरे ।
कार्यक्रमका विशिष्ट अतिथि माननीय सञ्चार तथ सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादर कार्कीले सबैलाई नियमित योग गर्न प्रेरित गरे । दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले आफ्नो स्वागत मन्तव्यका क्रममा योगको प्राचिन परम्परा दुई देशको साझा सभ्यता सम्पदा रहेको चर्चा गर्दै यसलाई सम्पूर्ण मानवजातीको कल्याणका लागि विस्तार गर्नुपर्नेमा जोड दिइन् ।
याे कार्यक्रम जारी ‘…India@75 आजादीका अमृत महोत्सव’अन्तर्गतको उत्सव कार्यक्रमहरु मध्येको एक हो । योग अभ्यासका फाइदाबारे जोड दिँदै यस वर्षको योग दिवसको नारा ‘मानवताका लागि योग’ रहेको छ ।
कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यान सहितको साधारण योग विधि प्रस्तुत गरिएकाे थियाे । योगमा अभिरुचि भएका करिब ६०० जनाले उक्त योग सत्रमा सहभागी थिए ।
योग दिवसको पूर्वसन्ध्यामा दूतावासले काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनसँगको सहकार्यमा विशेष योग सत्रको आयोजना गरेकाे थियाे । भारतीय राजदूतावास, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका योग गुरुहरुले महिलाका लागि र बालबालिकाका लागि विशेष योग कार्यक्रम विश्व सम्पदामा सूचीकृत काठमाडौंको बौद्धनाथ स्तूपामा आयोजना गरिएकाे थियाे ।
सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा १७७ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।