
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) की सांसद पूर्णाकुमारी सुवेदीले १० वर्षभन्दा कम उमेरको बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेकी छन् ।
आज (बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले त्यसो गर्न नसकेको खण्डमा सजाय र जरिवानालाई निकै कडा बनाउनु पर्ने बताइन् ।
उनले कानून बनाए पनि कार्यान्वयन फितलो हुने गरेको उल्लेख गर्दै कानून कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘कानून बनाउँछौ, कार्यान्वयन फितलो हुने गरेको छ । १० वर्षभन्दा तलको बालिकाको हकमा बालिकाहरुलाई जबरजस्ती बलात्कार गर्नेहरुलाई त मृत्युदण्ड दिनुपर्छ । मेरो व्यक्तिगत विचार । यो विषयमा कडा भन्दा कडा कानून हुनुपर्छ । कैद र जरिवाना दुवै राख्नुपर्छ । कडाभन्दा कडा सजाय र जरिवाना गरेर नै जानुपर्छ ।’