काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहाना व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आशिर्वाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् ।
नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि प्रहार गर्दै अघि बढ्ने बताए ।
अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावीसमेत गरे ।
यस्तै अध्यक्ष दाहालले देशमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दाे माध्यम भएको बताए । उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।