• २०८३ जेठ २५
  • 2026 June 08, Monday

काठमाडौं आए नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव

काठमाडाैं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो चार बजे काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

श्रीवास्तव करियर कूटनीतिज्ञ पनि हुन् । काठमाडौं आउनु अघि उनी नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए ।

उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरिसकेका छन् ।

श्रीवास्तव भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि मे १७ मा राजदूत नियुक्त भएका थिए ।