नयाँ मन्त्रिहरुको सपथ आज हुन सक्छ, केही मन्त्रिकाे राजीनामा मेराे गाेजीमा छ : माधव नेपाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आइतबार नै नयाँ मन्त्रीहरुको सपथ हुन सक्ने बताएका छन् ।

अखिल नेपाल महिला संघ (समाजवादी)ले राजधानीमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोध गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा पठाइएका मन्त्रीहरुको आइतबार नै सपथ हुन सक्ने बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘छिट्टै नयाँ मन्त्रीहरुको सपथ हुन्छ। आजै हुने पनि संभावना छ ।’ अध्यक्ष नेपालले मन्त्री फेर्ने आफ्नो पार्टीले गरेको निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह पनि गरे ।

नेपालले अगाडि भने, ‘बाहिर चलेका कुरा नसुन्नूहोस् । इमान्दार कार्यकर्ताले पार्टीको निर्णय मान्छ । पार्टीको निर्णय अक्षरस कार्यान्वयन हुनेमा ढुक्क हुनुहोस् ।’

अध्यक्ष नेपालले आफ्ना केही मन्त्रीले पदबाट राजीनामा दिएको र उक्त राजीनामा पत्र आफ्नो खल्तीमा रहेको बताए । अध्यक्ष नेपालले भने, ‘केही मन्त्रीहरुको राजीनामा मेरो गोजीमा छ ।’