काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रति कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त राजदूत श्रीवास्तवले ओहोदाको प्रमाण पत्र बुझाएका हुन् ।
नियुक्त भएको एक महिनापछि कार्यभार सम्हाल्न उनी असार ११ गते नेपाल आएका थिए । भारत सरकारले श्रीवास्तवलाई गत जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।
निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि उनको ठाउँमा श्रीवास्तवलाई नियुक्ति गरिएको थियो । यसअघि विदेश मन्त्रालयमा एडिसनल सेक्रेटरीकारुपमा श्रीवास्तवले चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुख थिए । करियर कूटनीतिज्ञ श्रीवास्तव चिनिया मामिला जानकार हुन् ।
उनले भारत चीन तनाव साम्य पार्न महत्वपूर्ण भूमिका खेलेका छन् । पूर्वीलद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए ।
श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्। साथै उनले वासिङटन डिसी, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन् ।