
झापा । मोबाइल चोरीमा संलग्न रहेको भनेर पक्राउ परेका व्यक्तिको साथबाट झापा प्रहरीले पेस्तोलमा लाग्ने गोली ८० राउन्ड बरामद गरेको छ ।
असार २४ गते राति झापाको पुरानो भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलमा चोरी भएको थियो । चोरले मोबाइल पसलमा प्रवेश गरी विभिन्न कम्पनीका मोबाइल सेट २९, घडी २ थान र नगद ६१ हजार ५०० रुपैयाँ चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
उजुरीका आधारमा खोजी गर्ने क्रममा प्रहरीले झापाको भद्रपुर नगरपालिका–५ का १८ वर्षीय मोहम्बद प्यारेलाई पक्राउ गरेको थियो । प्रहरीले प्यारेलाई असार २८ गते राति पक्राउ गरेको हाे ।
प्यारेमाथि अनुसन्धानका क्रममा प्रहरीले उनको साथबाट चोरी भएकोमध्ये १ थान मोबाइल, मोबाइलको चार्जर २७ थान बरामद गरेको थियो ।
यस्तै, उनको घरमा तलासी गर्ने क्रममा पेस्तोलमा लाग्ने गोली ८० राउन्ड बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । गाेलीकाे विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।