‘प्रचण्ड’को तीन दिने भारत भ्रमण महत्वपूर्ण र फलदायी : सचिवालय

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीन दिने भारत भ्रमण महत्वपूर्ण र फलदायी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा रहेकी स्वकीय सचिवसमेत प्रचण्ड पुत्री गंगा दाहालले भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै पार्टी टु पार्टी सम्बन्ध विकासका लागि भ्रमण महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको छ । भ्रमणको क्रममा अध्यक्ष कमरेड प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाउनु भएको छ भने भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको छ ।’

त्यस्तै, उनले भ्रमण सफलताको लागि भाजपा नेतृत्व, भारत सरकारका अधिकारीहरु, नेपाल सरकारका अधिकारीहरु, भारतस्थित नेपाली राजदूत र दूतावास कर्मचारीहरु, सञ्चारकर्मी साथीहरू र हाम्रो पार्टीका सम्पुर्ण नेता कार्यकर्ता कमरेड तथा सम्पुर्ण शुभेच्छुक दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक धन्यवाद व्यक्त गरेकी छन् ।

प्रचण्ड आइतबार साँझ काठमाडौ फर्कने कार्यतालिका रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१