ओलीले भने- देशलाई विकास र स्थिरता दिन एमालेको बहुमतको सरकार चाहिन्छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अहिले देखिएको विकृति र विसंगतिलाई रोक्न पनि अर्को निर्वाचनपछि एमालेको बहुमतको सरकार चाहिने बताएका छन् ।

बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बुधबार ओलीले आफूले साढे तीन वर्ष सरकार चलाउँदा निकै राम्रोसँग चलाएको तर एक वर्षअघिदेखि बनेको सरकारले केही काम गर्न नसकेको आरोप लगाए ।

‘हामीले सरकार चलाउँदा कोभिड थियो । दुई वर्ष त्यसकै रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्यो । तर अहिले कोभिड छैन । यो सरकार निकम्मा भयो । त्यसैले अर्को निर्वाचनपछि एमालेको बहुमत सरकार चाहिन्छ,’ ओलीले भने ।

उनले स्थानीय तहको निर्वाचन एमालेका लागि राम्रो नभएको बताउँदै अबको निर्वाचनमा त्यस्तो हुँदैन भनेर प्रतिबद्धता जनाउँन नेता कार्यकर्तालाई कसम खुवाए ।

उनले सबैतिरबाट आक्रमण हुँदा पनि एमाले दोस्रो ठूलो दल बनेको तर केही दलले एमालेको बिरुवा सक्यौं भन्दै हिँडेको बताए । अर्काको बुई चढेर १०-१५ सिट ल्याउने पार्टीले एमाले सकियो भन्दै हिँडेकाले त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७