
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो कार्यकालमा मिडियाले भ्रष्टाचारबारे लेख्न नपरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि सुशासनमा नयाँ रेकर्ड बनाएको दाबी गरेका हुन् ।
उनले भने, ‘सुशासनको दृष्टिकोणले भन्नुहुन्छ भने पहिलो गणतान्त्रिक सरकारको नौ महिने कार्यकालमा कुनै पत्रपत्रिकाले त्यो सरकारको नौ महिनामा भ्रष्टाचार यो ठाउँमा भयो भनेर एउटा वाक्य लेख्ने ठाउँ दिइएन ।’
उनले आफ्नाे ९ महिनाकाे कार्यकालमा सुशासनको नयाँ रेकर्ड बनाएको पनि बताए । उनले भने, ‘सुशासनको एउटा नयाँ रेकर्ड बनाइयो । यसबाट के देखिन्छ भने विकास निर्माण र समृद्धिको सुशासनको नेतृत्व माओवादीले गर्दा मात्रै हुँदो रहेछ ।’