माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, अर्थमन्त्रीबारे छलफल

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा पोलिटब्युरो र पदाधिकारी गठनका साथै अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने बारेमा छलफल हुने एक नेताले बताए ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको भन्दै विरोध भएपछि राजीनामा दिएका थिए । माओवादी केन्द्रको भागमा परेको अर्थमन्त्रालय हाल खाली छ ।

शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएकाे सम्बन्धमा गठित संसदीय छानबिन समितिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता नभएको निष्कर्ष निकालेको थियो ।

उक्त आरोपबाट शर्माले सफाइ पाएपछि उनैलाई पुनः अर्थमन्त्री बनाउने चर्चा चलिरहेको छ । आइतबारको बैठकले फेरि शर्मालाई नै अर्थमन्त्रीको रूपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१