
काठमाडौं । जनार्दन शर्मा पुन: अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्माले आइतबार नै राष्ट्रपति भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको छ ।
बजेट भाषणको अघिल्लो दिन अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेकाे भन्दै विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उक्त प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति गठन भएपछि उनले राजीनामा दिएका थिए ।
उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो ।