भारतबाट घटेर आयो इन्धनको मूल्य, पेट्रोल र हवाई इन्धनमा नाफा

काठमाडाैं । भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूची अनुसार पहिले भन्दा पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ घटेर मूल्य प्राप्त भएको छ । यस्तै, डिजेलमा १२ रुपैयाँ र हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर मूल्य घटेको छ । खाना पकाउने एलपीजी ग्यासको प्रतिसिलिण्डर मूल्य ७८ रुपैयाँ घटेर आएको छ ।

मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ ।

लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ ।

यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगम स्रोतले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो ।

हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ । यो भाउ अझै घट्ने अनुमान छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१