
काठमाडौं । शंकास्पद व्यक्ति सवार रहेको प्रहरीको सूचनापछि रोकिएको नेपाल एयरलाइन्सको जहाज २ घण्टापछि भारतको मुम्बई उडेको छ।
बुधबार दिउँसो १:१० बजे मुम्बई उड्ने तालिका रहेको फ्लाइट नम्बर आरए २०१ नम्बरको न्यारोबडी जहाजले उडान भर्न ढोका बन्द गरिसकेको अवस्थामा रोकिएको थियो ।
विमानमा शंकास्पद व्यक्ति सवार रहेको सूचनापछि सबै यात्रुलाई ओरालेर चेकजाँच गरिएको थियो ।
प्रहरीले मुम्बई जान लागेका कैलालीका सन्तोष लामिछानेलाई विमानबाटै पक्राउ गरेको हो । उनी आफ्नी श्रीमतीसँग मुम्बई जान लागेका थिए । सन्तोष पक्राउ परेपछि उनकी श्रीमती पनि विमानबाट ओर्लिएकी छन् ।
प्रहरीका अनुसार पक्राउ परेका सन्तोष गहना व्यवसायी हुन् । कैलालीमा गहना पसल चलाउँदै आएका उनी चोरी तथा तस्करीको सुन किनेर बिक्री गर्ने कार्यमा संलग्न थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीको खोजी सूचीमा रहेका उनी काठमाडौंबाट मुम्बई उड्न लागेको सूचना प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोमा आइपुगेको थियो । कैलाली प्रहरीको सूचनाअनुसार नै बिशेष ब्यूरोको टोली सन्तोषलाई पक्राउ गर्न विमानस्थल पुगेको थियो ।