
काठमाडाैं । चीनले ताइवानको क्षेत्र नजिकै अहिलेसम्मकै ठूलो सैनिक अभ्यास थालेको छ । बिहीवार बिहानैदेखि चीनका जल सेना, स्थल सेना र हवाई सेनाले अत्याधुनिक हातहतियार र उपकरणसहितको अभ्यास थालेका चीनको सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।
चीनले ताइवानको उत्तर–पूर्वी तटमा दुई वटा शक्तिशाली मिसाइल पनि प्रक्षेपण गरेको छ । अरू कैयौँ मिसाइल पनि चीनको सेनाले प्रहार गरेको छ ।
चिनियाँ जनमुक्ति सेनाले बनाएका डोङफेङ नामक दर्जनौँ मिसाइल ताइवानको भूमि नजिकै लक्षित गरेर प्रहार भएका समाचार संस्था रोयटर्सले जनाएको छ । चीनले अहिले गरिरहेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो र ताइवानको नजिकमा रहेको खबरमा उल्लेख छ ।
चीनको कडा विरोध र चेतावनीकै बीच अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले गएकाे मङ्गलवार र बुधवार ताइवानको भ्रमण गरेपछि चीन आक्रोशित छ ।
ताइवानको रक्षा मन्त्रालयले चिनियाँ मिसाइल प्रक्षेपणको प्रतिक्रियाका लागि आफ्ना प्रणाली पनि सक्रिय बनाएको बताएको छ ।
यसैगरी, चीनले प्रहार गरेकाे ब्यालेस्टिक मिसाइलको ट्र्याक गर्न सक्ने अमेरिकी विमान जापानबाट उडेर ताइवानतर्फ आइरहेकाे समाचार बीबीसीले लेखेकाे छ ।