• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा

लमजुङ  । जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १४ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । जिल्ला अस्पतालमा ०७८र७९ मा एक हजार एक सय ६६ जना महिला आमा बनेका छन् । जसमध्ये एक सय ५५ जना किशोरी छन् ।

१४ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ । बिहाबारी २० वर्षपारि भन्ने अभियान चलाइए पनि यसले सार्थकता पाउन सकेको छैन ।

सानै उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको भनाइ छ । उनले भने, ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुन्निने, दीर्घकालमा पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुन सक्छ ।’ जिल्ला अस्पताल लमजुङमा ०७७र७८ मा एक हजार एक सय ७१ जना महिला आमा बनेका छन् ।

जसमध्ये एक सय ५४ जना किशोरी अर्थात् १३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ । त्यस्तै, आ।व ०७६र७७ मा एक हजार एक सय २३ जना महिला आमा बनेका छन् । जसमध्ये एक सय ७१ जना महिला २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ ।

सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाउँदापाउँदै पनि सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकीलगायत कारणले बालविवाह कम हुन नसकेको अस्पतालका प्रसूति इन्चार्ज राममाया ठकुरी बताउँछिन् ।

ग्रामीण क्षेत्रमा मात्र नभई शिक्षित र सहरी क्षेत्रमा समेत २० वर्ष नपुग्दै बच्चा जन्माउनेको संख्या बढेको पाइएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीको विवाह भने १५ देखि १८ वर्षमा भएको जिल्ला अस्पताल लमजुङको अनुमान छ ।