
काठमाडाैं । भारतीय राजदूतावास, काठमाडौंले साेमबार भारतको ७६ औँ स्वतन्त्रता दिवस मनाएकाे छ ।
यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा मनाइएकाे हाे ।
दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेकाे सम्बोधन पढेर सुनाएका थिए ।
भारतको स्वतन्त्रताको खातिर हाम्रा स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरेकी थिइन् । भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गरी उनले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रुपमा समर्पित भइ अघि बढ्न आह्वानसमेत गरेकी थिइन् ।
यस्तै, कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई २.६५ करोड रुपैयाँ प्रदान गरी सम्मान गरेकाे थियाे ।
दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत पनि गरेकाे छ । देश बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन प्ररित गर्ने उद्देश्यले भारत सरकार विदेश मन्त्रालयले सो हाजिरीजवाफको आयोजना गरेको थियो ।
कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीतलगायतका प्रस्तुति दिएका थिए ।