दोलखा प्रदेशसभा ‘क’मा एकीकृत समाजवादीबाट चुनु केसी खड्काकाे दाबी

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सदस्य तथा महिला नेतृ चुनु केसी खड्काले दाेलखा प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा उम्मेदवारी दिने बताएकी छन् ।

खड्काले महिलाहरुकाे क्षमता अभिवृद्धि गर्न, देश विकासका लागि समग्र महिलाहरुकाे प्रतिनिधित्व गरी आफूले प्रत्यक्षमा उम्मेदवारी दिन लागेकाे बताइन् । यसअघि महिलाहरुलाई समानुपातिकमा सीमित गर्न खाेजेकाे उदाहरण दिँदै उनले अब आफू दाेलखा र समग्र देश विकासका लागि प्रत्यक्षमा नै निर्वाचन लड्ने तयारी गरेकाे बताइन् ।

देशकाे नेतृत्व तहमा पुरुषहरुसँग प्रतिस्पर्धामा आउनका लागि महिलालाई सक्षम बनाउनुपर्ने उनकाे तर्क छ ।

गठबन्धनकाे तर्फबाट सिट बाँडफाँडकाे विषयले चर्चा पाइरहेकाे बेलामा उनले आफ्नाे दाबी प्रस्तुत गरेकी हुन् । उनले दाेलखाका नागरिकहरुले आफूलाई विश्वास गर्ने र बहुमतसहित विजयी प्राप्त गर्ने दाबी पनि गरिन् ।

प्रदेशसभाकाे २ ओटा निर्वाचन क्षेत्र रहेकाे दाेलखा ‘क’ बाट यसअघि २०७४ सालकाे चुनावमा वाम गठबन्धनकाे तर्फबाट विशाल खड्का विजयी भएका थिए ।

७ ओटा गाउँपालिका र २ वटा नगरपालिका गरी ९ ओटा स्थानीय तह रहेकाे दाेलखामा स्थानीय तह निर्वाचनमा तामाकाेशी गाउँपालिकाकाे अध्यक्षमा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेकाे थियाे ।