के बाबुराम भट्टराई ‘नयाँ यात्रा’मा छन् ?

काठमाडाैं । बाबुराम भट्टराई यतिबेला वैकल्पिक राजनीतिको यात्रा टुंग्याएर पुनः माओवादीमा फर्किएका छन् । जनता समाजवादी पार्टीबाट अलग्गिएर नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराई माओवादीकै चिह्नबाट चुनाव लड्ने तयारीमा छन् । अहिले उनकाे याे कदमप्रति विभिन्न कटाक्ष र टिप्पणी भइरहेको छ ।

आफ्नो राजनीतिक यात्राको बारेमा टिप्पणी भइरहेको समयमा भट्टराईले भने आफू ‘नयाँ यात्रा’ मा रहेकाे उल्लेख गरेका छन् । पार्टी उपाध्यक्ष एवं पत्नी हिसिला यमीसँगको तस्वीरसहित सामाजिक सञ्जालमा भट्टराईले लेखेको छन्,‘निरन्तर नयाँ यात्रामा हामी ।’

२०७२ साल असोज ३ गते संविधान जारी भएको ६ दिनपछि बाबुराम भट्टराईले माओवादी पार्टी त्याग गरेको घोषणा गरेका थिए । त्यतिबेला उनले संविधान जारी भएपछि देशलाई समृद्धिको यात्रामा हिँडाउने वैकल्पिक पार्टीको आवश्यकता भएकाे औँल्याएका थिए । परम्परागत कम्युनिस्ट पार्टीको सान्दर्भिकता सकिएको त्यतिबेला उनकाे निष्कर्ष थियाे ।

पार्टीविहीन बनेको करिब आठ महिनापछि २०७३ साल जेठ ३० गते उनले तामझामका साथ नयाँ शक्ति पार्टी घोषणा गरेका थिए । तर चुनावमा उनले अपेक्षा गरे जस्तो मत परिणाम पाएनन् ।

नयाँ शक्ति पार्टी घोषणा गरेको तीन वर्षपछि २०७६ साल वैशाख २३ गते उनले सङ्घीय समाजवादी फोरमसँग पार्टी एकता गरे । एकीकृत दलको नयाँ नाम समाजवादी पार्टी नेपाल राखियाे ।

उक्त पार्टी पनि आन्तरिक कलहले फुटकाे संघारमा पुग्याे । २०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनका लागि सहज बनाउने अध्यादेश ल्याएपछि भट्टराई संलग्न रहेको तर मूल रूपमा उपेन्द्र यादवको नेतृत्वमा रहेको समाजवादी पार्टी नेपालमा विभाजनको खतरा प्रष्ट रुपमा देखा पर्‍यो । पदीय हिसाबले त्यो बेला पार्टीका अध्यक्ष उपेन्द्र यादव थिए भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई थिए ।

अध्यादेश आएपछि उपेन्द्र यादव निकट सांसदको समूह नै पार्टी विभाजन गरेर नयाँ पार्टी निर्माण गर्ने निर्णयमा पुगेका थिए । उनको दलभित्र ४० प्रतिशत सांसद अलग दल गठन गर्न तयार भएपछि उपेन्द्र एकाएक कमजोर बनेका थिए ।

यतिबेला भट्टराईले जुक्ति लगाएका थिए । विभाजनअघि नै राजपासँग पार्टी एकता गरेकाे खण्डमा विभाजन चाहने सांसदको पक्षमा ४० प्रतिशत पुग्दैन थियाे । मूलत: उनकै पहलमा रातारात काम अघि बढ्यो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपालबीच २०७७ वैशाख १० गते मध्यरातमा पार्टी एकता भयो । जनता समाजवादी पार्टी (जसपा) नामाकरण गरियाे ।

अन्तत: उनी गएकाे असार ३० गते आफ्नै पार्टीकाे संघीय परिषद् अध्यक्षबाट पनि निकालिए । उनले केही दिन अघिमात्र नेपाल समाजवादी पार्टी गठन गरेका छन् । तर अहिले उनी माओवादी केन्द्रकाे चुनाव चिन्हबाट आगामी निर्वाचनमा चुनाव लड्न इच्छुक छन् ।

अहिले वैकल्पिक शक्तिको निर्माणमा कमजाेर देखिएका भट्टराईले यसअघि माओवादी पार्टी र जनता समाजवादी पार्टी निर्माण गर्न निकै संघर्ष गरेका छन् । सशस्त्र क्रान्तिको मोर्चामा सक्रिय बनेर माओवादी पार्टी बनाउन उनकाे ठूलो संघर्ष छ ।

२०४२ सालमा भारतबाट अध्ययन सकेर उनी सक्रिय राजनीतिमा हाेमिएका थिए । २०४६ को जनआन्दोलनमा उनी संयुक्त राष्ट्रिय जनआन्दोलनको संयोजक बनेका थिए । २०४७ जेठमा भट्टराईले मोहनविक्रम सिंह नेतृत्वको मसालबाट विद्रोह गरेका थिए ।

२०४८ सालमा कम्युनिष्टका चार घटक मिलेर एकता केन्द्र बनेपछि त्यसको महामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेका थिए भने बाबुराम पोलिटब्यूरो सदस्य बनेका थिए । यसबाट बिस्तारै अलग भएर प्रचण्ड र भट्टराई २०५२ मा सशस्त्र युद्धमा होमिए ।

२०५२ माघमा बाबुराम नेतृत्वको संयुक्त जनमोर्चाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सुत्रीय माग पेश गर्‍यो । २०५२ फागुन १ देखि जनयुद्ध सुरू भएपछि लामो समयसम्म माओवादीको मुख्य नेता बाबुराम नै हुन् भन्ने धेरैलाई लागेको थियो ।

यसको मूल नेतृत्वकर्ता प्रचण्ड भए पनि उनी आममानिसमा परिचित थिएनन् । अर्धभूमिगत शैलीमा राजनीति गरेका प्रचण्डलाई आम नागरिकले खासै चिन्दैनथे । एसएलसीमा बोर्ड फस्ट आएको एउटा कुशल इन्जिनियर देश बनाउन क्रान्तिमा होमिएको भनेर चर्चा भने भट्टराईकाे भएकाे थियाे ।

२०६३ पछि शान्ति प्रक्रिया अनि संविधान सभाको निर्वाचनसम्म आइपुग्दा पार्टीभित्र प्रचण्ड सर्वेसर्वा थिए भने भट्टराई लाेकप्रिय थिए । २०६४ को निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बन्यो । प्रचण्ड प्रधानमन्त्री बने भने बाबुराम अर्थमन्त्री भए ।

९ महिनामा प्रचण्डको सरकार ढलेपछि माधव नेपाल प्रधानमन्त्री बने । नेपालपछि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बने । त्यसपछि २०६८ सालमा माओवादी दलभित्रै आन्तरिक दबाबका कारण प्रचण्ड भट्टराईलाई प्रधानमन्त्री बनाउन बाध्य भए ।

प्रधानमन्त्री बनेपछि भट्टराईले संविधान जारी गर्नुकाे सट्टा संविधान सभा विघटन गरिदिए । त्यसपछि उनी आलाेचित बन्न पुगेका हुन् ।

संविधान सभा विघटनपछि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्यो । २०७० मंसिरमा दोस्रो संविधान सभाको निर्वाचन भयो । दुई वर्षपछि २०७२ असोज ३ गते संविधान जारी भयो । संविधान जारी भएकाे ६ दिनपछि अर्थात ०७२ असाेज ९ गते उनले पार्टी परित्याग गरे र सांसद पदबाट राजीनामा दिए ।

७ वर्षअघि ‘देशलाई समृद्धिको यात्रामा हिँडाउने वैकल्पिक पार्टीको आवश्यकता औँल्याएका’ भट्टराई पुन: गाेलाकारभित्रकाे हसियाँ हथाैडा चिन्हमा चुनाव लड्न इच्छुक देखिएका छन् । यसबीचमा उनले थुप्रै पार्टी गठन गरे तर सफल हुन सकेनन् । के अब उनी आफ्नाे पुरानै घरमा फर्किन लागेका हुन् त ?

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१