
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नागरिकता विधेयकमाथि छलफल अघि बढाउन सभामुख अग्नि सापकोटाले बिहीबारका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
मंगलबारको संसद बैठकमा पेश गरिएको नागरिकता विधेयकमाथि छलफल अघि बढाउने गरी सापकोटाले बिहीबार साढे १० बजे सबै दल सम्मिलित परामर्श समिति बैठक बोलाएका हुन् ।
उक्त बैठकपछि बिहीबारै ११ बजे बस्ने संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि पुनर्विचार गरियो भन्ने प्रस्ताव राख्ने भएका छन् ।
त्यसैगरी, उक्त बैठकबाटै नागरिकता विधेयकलाई पारित गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बुधबार साँझ सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् ।