
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापन गरिने सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा अवरोध नगर्न पार्टीको स्थानीय नेतृत्वलाई आग्रह गरेका छन् ।
उनले बुधबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीको स्थानीय तहको नेतृत्वलाई आग्रह गरेका हुन् । थापाले अन्य राजनीतिक दलका स्थानीय नेता–कार्यकर्तालाई पनि अवरोध हटाएर समाधान खोज्ने कार्यमा सघाउन पनि आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आव्हान गर्न चाहन्छु– हाम्रा कुनै पनि तहको कोही साथी अवरोधमा संलग्न नहुनुस्, समाधानका लागि सक्रिय हुनुहोस्, अन्य दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छु–अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस् ।’
थापाले काठमाडौं फोहोरका कारण अस्तव्यस्त भएको र यही अवस्था अझ केही दिन रहे महामारी फैलिन सक्ने सम्भावना रहेको पनि बताएका छन् । ‘सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रूपमा विनित भएर अपिल गर्न चाहन्छु-कृपया अवरोध नगरिदिनुहोस् आउनुस् बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ’ उनकाे आग्रह छ ।