टाउको गनेर नागरिकता विधेयक पारित गरे परिणाम राम्रो हुँदैन : प्रदीप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयक ‘हेड काउन्ट’का आधारमा पारित नगर्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा उठाइएका प्रश्नहरूको समाधान गरी साझा दस्तावेज बनाउन दिएको अवसरको सदुपयोग गर्न आग्रह समेत गरे ।

उनले भने, ‘एउटा अवसर प्राप्त भएको छ । छिटोभन्दा छिटो टुंग्याउन जरुरी छ । यसलाई जबरजस्ती गरेर टाउकाको गिन्तीको आधारमा गर्नुभयो भने यसका परिणाम राम्रा हुँदैन ।’

टाउकोको गणनाका आधारमा २०३६ सालमा राजा वीरेन्द्रले पञ्चायतलाई जिताएको घोषणा गरेकाे तर त्याे नटिकेकाे उनकाे भनाइ थियाे ।

उनले अगाडि भने, ‘हेड काउन्टमा तपाईंहरू बढी हुनुहोला । यो हेड काउन्टले टुंग्याउने विषय होइन । यसमा समाज विभाजित भयो भने पछिसम्म दुष्परिणाम रहिरहन्छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१