
काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् ।
अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अर्थात सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरुले तटस्थ रहन पनि पाउनेछन् ।
यसअघि नागरिकता विधेयकको पक्षमा सत्ता गठबन्धनका चार दल, लोकतान्त्रिक समाजवादी पार्टी उभिएको थियो ।
विधेयकको विपक्षमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा उभिएको थियो । यस पटक पनि यिनै दल विपक्षमा छन् ।
एमालेले विधेयकलाई सर्वदलीय बैठक बोलाएर सहमति कायम गराउन आग्रह गरेको थियो ।
यसअघि संसदका दुबै सदनबाट पारित भएको नागरिकता विधेयक १५ साउनमा सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि शीतल निवास पठाएका थिए ।
तर, राष्ट्रपतिले विधेयकलाई १५ दिन रोकेर २९ साउनमा पुनर्विचार गर्न संसदमै फिर्ता पठाएकी थिइन् ।