
काठमाडाैं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
यसअघि माओवादी बैठक बिहीबार बिहान ९ बजे बस्ने गरी तय भएको थियो । तर बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने भन्दै बिहीबार अपराह्न ४ बजेलाई सारिएको थियो ।
फेरि उक्त समयमा बहुचर्चित नागरिकता विधेयकको पक्षमा मतदानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सांसदहरु संसद भवन पुगेका थिए ।
नागरिकता विधेयकमा मतदान गर्न अध्यक्ष दाहालसहितका नेताहरु जानुपरेपछि बैठक शुक्रबार बिहान ८ बजेसम्मलाई सारिएको हो ।
यो बैठकमा प्रचण्डले पार्टी महासचिवसहितका पदाधिकारी घोषणा गर्ने तयारी थियो ।
तर महासचिव, उपाध्यक्ष र उपमहासचिवसहितका पदमा अझै समझदारी बनेको छैन । नेताहरुको तीव्र लविङबीच माओवादी बैठक पनि सरेको हो ।