
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपालका २ ठूला जलविद्युत आयोजन श्वेतपत्र जारी गरेर भारतलाई दिएको छ ।
लगानी बोर्डको निर्णयानुसार बिहिबार साँझ उक्त सम्झौतामा हस्ताक्षर भएको हाे ।
इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना र इन्डिकेटिभ जडित क्षमता ४५० मेगावाटको सेती नदी– ६ जलविद्युत परियोजना निर्माणको जिम्मा भारतको कम्पनी एनएचपीसीलाई दिने लगानी बोर्डको ५१औं बैठकले निर्णय गरेको थियो । सो निर्णय अनुसार नै सम्झौता भएको हो ।
मन्त्रिपरिषदबाट स्वीकृति लिएर बोर्डले सम्झौता गर्न लागेको हो । बोर्डका सीईओ सुशील भट्टको संयोजकत्वमा अध्ययन समिति बनेको र त्यही समितिको प्रतिवेदनअनुसार बिहीबार सम्झौता भएको हो ।
समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्ट र एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका हुन् ।
पश्चिम सेती र सेती नदी ६ आयोजना सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुनेछ । यी दुई आयोजना निर्माण गर्न २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । पश्चिम सेतीको लागि १ अर्ब ४८ करोड डलर र सेती नदी– ६ आयोजनामा ९२ करोड ७० लाख डलर लाग्ने अनुमान गरिएको छ ।