नेपाल भेटेरेनरी एशोसिएशनका कार्यवहाक अध्यक्ष काफ्ले भन्छन्- विज्ञ र प्राविधिकबीच सामान्य भिन्नता पनि हेरिएन

काठमाडाैं । नेपाल भेटेरेनरी एशोसिएशनले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ मा भएका त्रुटिहरू संशोधन गर्नुपर्ने माग गरेको छ ।

एशोसिएशनका कार्यावाहक अध्यक्ष प्रा.डा कृष्णभक्त काफ्लेले आफूहरूले उठाएका मागप्रति वेवास्ता गर्दै संसद्मा उक्त विधेयक पेश गरेर पारित गरिएको भन्दै संशोधन गर्नुपर्ने माग गरेका हुन् ।

उनले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले समेत आफूहरूले उठाएका न्यूनतम जायज मागलाई बेवास्ता गरेको गुनासो गरे ।

पशु स्वास्थ्य पशुसँग मात्र नभई मानिससँग पनि जोडिएकाले त्यसले विभिन्न प्रकोप, रोगव्याधी ल्याउन सक्ने उनको भनाइ थियो ।

पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिक बीच सामान्य भिन्नतासमेत नदेखिने गरी विवादित विषयहरु सम्बोधन नगरी विधेयक अगाडि बढाइएको उनकाे भनाइ छ ।

विधेयकका कारण पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिक, पशु व्यवसायी, पशु स्वास्थ्यसम्बन्धी ज्ञान भएका मानिसमा क्षेत्राधिकारबारे दुविधा उत्पन्न भएकाे उनको जिकीर छ । यसले आगामी दिनमा ठूलाे जटिलता निम्तिने पनि उनकाे भनाइ छ ।

यसैगरी, एशोसिएसनले आफ्नो माग पूरा नभए सङ्घर्ष गर्ने पनि जनाएको छ ।

सङ्घर्षका कार्यक्रमअन्तर्गत भदौ ३, ४ र ५ गते काठमाडौँ केन्द्रित भेला गर्ने, अत्यावश्यकका बाहेक उपचार सेवा बन्द गर्ने, प्रदेश समितिले तोकेको मितिमा प्रदेश भेला गर्ने, भेटेरेनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिइभिटी र शिक्षा विभागअन्तर्गतका स्कुलहरूमा अनिश्चितकालीनरूपमा अध्ययन–अध्यापन बन्द गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१