बालेन साहमाथि फेरि खनिए हर्क साम्पाङ : व्यवस्थापनको प्रबन्ध नमिलाई विस्थापित गर्न हुन्न

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ फेरि काठमाडाैंका मेयर बालेन साहमाथि खनिएका छन् ।

काठमाडौंका मेयर साह सडक मिचेर गरिएका फुटपाथ व्यवसाय तथा अन्डरग्राउन्डका पसलहरू हटाउन व्यस्त छन् । उनको यो कार्यले सामाजिक सञ्जालमा वाहवाही बटुलिरहेको छ । यद्यपि, साना व्यवसायीहरू भने महानगरसँग क्रुद्ध छन् । हिजो उनीहरूले महानगर अगाडि बालेनविरुद्ध नारावाजीसमेत गरिरहेका छन् ।

धराने मेयर साम्पाङ पनि बालेनको यो एक्सनप्रति असहमत देखिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै बालेनप्रति असहमति र साना व्यवसायीप्रति सहानुभूति दर्शाएका हुन् । व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नहुने साम्पाङको मत छ ।

अर्को स्टाटसमा साम्पाङले गरिबलाई हेप्नेहरू धुलीसात भएर जाने चेतावनीसमेत उनले दिएका छन् ।

‘यो संसार तिनै गरिबहरुको श्रमले चलेको छ । संसार बदल्ने शक्तिको स्रोत कहिँ छ त त्यो हो गरीबको भोको पेट र नाङ्गा आङमा,’ साम्पाङले लेखेका छन् ।

केही दिनअघि काठमाडौं आएर फर्केदेखि उनी यहाँका मेयर बालेन्द्र साहविरुद्ध सामाजिक सञ्जालमा खनिएको खनियै छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१