
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन विश्वविद्यालयमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरिरहेको तालाबन्दीलगायत कार्यप्रति संसद्मा गम्भीर प्रश्न उठाएको छ ।
एमाले सांसद प्रदीप ज्ञवालीले नेविसंघले गरिरहेका क्रियाकलापमा सरकारको संरक्षण रहेको पनि आरोप लगाएका हुन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेले त्रिभुवन विश्वविद्यालयमा सरकारको संरक्षणमा कांग्रेसको भ्रातृ संगठनले गरिरहेको क्रियाकलापमा नियन्त्रण गर्नुपर्ने पनि बताए ।
उनले भने, ‘हिजो विद्यार्थी संगठनको नेतृत्व गरेका व्यक्तिहरू आज देशको सर्वोच्च पदमा पुग्नुभएको छ । विश्वविद्यालयका प्राध्यापकहरूलाई कुट्ने, तिमीहरूलाई केही भयो भने प्रहरीबाट सुरक्षा दिन्छौं । मुद्दा चलायो भने महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा फिर्ता लिन्छौं भन्ने शिक्षा दिनुभएको हो ।अहिलेका प्रधानमन्त्री र गृहमन्त्री कुनै समयमा विद्यार्थीको नेतृत्व तहमा हुनुहुन्थ्यो, त्यतिबेला पञ्चायतको मण्डलेहरूको कुटाइ खानुभएको थियो होला । अहिले त्यस्तै व्यवहार गरिरहनुभएको छ । के मौका नपाएर मात्रै मण्डले नभएको हो ? यो त होइन होला ।’
उनले प्रश्न गरे, ‘कुलपति हुनुहुन्छ प्रधानमन्त्री । यहाँलाई पोल्नुपर्छ कि पर्दैन ? सरकार संरक्षित गुन्डागर्दीबाट विश्वविद्यालय कुन अवस्थामा पुग्छ ?’