• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

प्रदेश एककाे राजधानीमा चिनियाँ राष्ट्रपतिकाे पुत्ला दहन

विराटनगर । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विराटनगरमा राष्ट्रिय एकता अभियान नेपालले प्रदर्शन गरेको छ ।

अभियानले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, सीमा मिचेको, सीमा नाका बन्द गरेको भन्दै चीनविरुद्ध प्रदर्शन गरेको हो ।

विराटनगरको महेन्द्र चोकबाट शुरु भएको र्‍याली भट्ठा चोकमा पुगेर सकिएको थियो । विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले चिनियाँ राष्ट्रपति सी जिनपिङको फोटोसमेत जलाएका थिए। अभियानका मोरङ संयोजक जितेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप बढिरहेकाले सचेत पार्न आन्दोलनमा उत्रनुपरेको बताए ।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले नेपालमा चिनियाँ गुप्तचर संस्था एमएससले गतिविधि बढाइरहेको, नेपालको अन्य देशसँगको सम्बन्धमा खेल्ने गरेको, चिनियाँ राजदूत नेपालको आन्तरिक मामिलामा खेलिरहेको, सीमा मिचेको, सीमा नाका एकतर्फी रुपमा बन्द गरेको, चीनमा अध्ययन गरिरहेका विद्यार्थीलाई फर्कन नदिई भविष्य अन्यौलमा पारिदिएको भन्दै चीनबिरुद्ध प्रदर्शन गर्नुपरेको बताए ।