बालेन साहविरुद्ध मुद्दा दर्ता गर्ने वकिल भन्छन्- म बालेनकाे विराेधी र एमालेकाे समर्थक हाेइन

काठमाडाैं । बालेन साहविरुद्ध अदालतकाे अवहेलना मुद्दा दर्ता गर्ने अधिवक्ता दीपकराज जाेशीले आफूले बालेन शाहकाे विराेधमा मुद्दा दर्ता नगरेकाे बताएका छन् । उनले आफू एमाले निकट अथवा समर्थक नभएकाे पनि बताएका छन् ।

उनले मेयर बालेन साहले अदालतकाे आदेशमा कटाक्ष गरेकाे र अदालतबारे टिप्पणी गरेकाे आधारमा मात्र अवहेलनामा आफूले मुद्दा दर्ता गरेकाे बताएका छन् । अदालतकाे आदेश मान्नुपर्छ भन्नेमात्र उनकाे तर्क छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएकाे थियाे । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखेर निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो ।

उक्त आदेशको विरुद्धमा बालेनले ‘नक्सा पास नगरी बनाएको संरचनालाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ’ भनेर प्रतिक्रिया दिएका थिए ।

उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । अब मेयर शाहले स्वयं उपस्थित भएर वा वारेसमार्फत लिखित जवाफ पेस गर्नुपर्ने हुन्छ ।