
काठमाडाैं । नेपाल इन्जिनियर्स एशोसिएसनकाे कार्यसमिति र उर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुषालबीच भेटवार्ता भएकाे छ ।
मंगलबार भएकाे भेटवार्तामा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने लगायतका सन्दर्भमा छलफल भएकाे एशाेसियसनका महासचिव रविभुषण झाले जानकारी दिए ।
साथै, उर्जामन्त्री भुषालसँग भेटका क्रममा इन्जिनियरलाई न्यूनतम सातौँ तहको विज्ञापन लागि आवश्यक पहल गर्ने, नगरपालिकामा नक्सा बनाउने इन्जिनियर/आर्किटेकहरुलाई परेको समस्या समाधान गर्ने र हरेक वर्ष साउन ३ गते इन्जिनियर दिवसका दिनलाई अन्य दिवस सरह मान्यता दिई सरकारी सूचनामा अंकित गर्ने विषयमा छलफल भएकाे उनले जानकारी दिए ।
देशभर कार्यरत इन्जिनियर/आर्किटेक्टलाई विश्वविद्यालयको अध्ययनपश्चात् अवसर र मागअनुसार सीधै कार्यक्षेत्रमा खटाउनुअघि उनीहरूलाई सम्बन्धित विषयमा विभिन्न किसिमका तालिम तथा प्रशिक्षण दिन इन्जिनियरिङ स्टाफ कलेजको खाँचो रहेकाे भन्दै एशाेसियसनले कलेज स्थापना अहिलेकाे अपरिहार्य आवश्यकता बताउँदै आएकाे छ ।