
काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार गएका छन् ।
जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिएर भित्रसम्म पुर्याएका थिए ।
गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।
आज बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ ।
सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ ।
जबरामाथि मन्त्रिपरिषद् र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिङ गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन् ।