
काठमाडाैं । गणेशकुमार मण्डल मधेशी नागरिक समाजका संयोजक एवम राजनीतिक विश्लेषक हुन् । लामो समयदेखि नेपाली राजनीतिमाथि टिप्पणी गरिरहेका मण्डल अहिले स्वतन्त्र उम्मेदवार जिताउन अभियानमा सक्रिय छन् ।
प्रमुख दलका प्रमुख नेताहरु मुलुक र जनताप्रति जिम्मेवार नहुँदा नेताप्रति जनतामा वितृष्णा उत्पन्न भएको उनको बुझाइ छ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण यसैको नतिजा भएको उनी बताउँछन् । उनका अनुसार आउँदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अधिकांश क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी हुनेछन् । यसको सबै तयारी पूरा भैसकेको छ । चुनावमा २०/२५ जना प्रमुख नेताहरु पराजित हुनेछन् ।
मण्डल भन्छन्, ‘अहिलेको स्थिति हेर्दा प्रचण्ड, देउवा, ओली, माधव, महन्थ, उपेन्द्र सबै चुनाव हार्दैछन् । बाबुराम भट्टराई र गगन थापासंग युवा पुस्ताको भावना र दृष्टिकोण बुझ्ने क्षमता भएकाले यी दुईजना चुनाव जित्दैछन् । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको आफनै पकड भएकाले उनी पनि जित्न सक्छन । स्वतन्त्र उम्मेदवारहरुले चमत्कार गर्छन्, हेर्दै गर्नुहोला । ’
लामो समयदेखि २०/२५ जनाको पञ्जाबाट देश उम्किन नपाउँदा देश र जनताको बेहाल भएको हो । यीनिहरुमा परिवारवाद हावी भयो । विदेशीको गोटी बने । यीनिहरु भएसम्म देशको विकास हुँदैन । अबका जनताले हरेक कुरामा हिस्सा मात्र होइन साझेदारी र भागेदारी पनि खोजेका छन् ।
मण्डलका अनुसार स्वतन्त्र अभियान दलीय व्यवस्था र लोकतन्त्रकाविरुद्धमा कदापी होइन । यो अभियानले लोकतन्त्रलाई झन बलियो बनाउनेछ ।
देशभरका युवाहरु जुर्मुराइसकेकाले परम्परागत पार्टी र नेताहरुले अब चुनाव जित्ने छैनन् । अहिलेको अवस्थामा जसले जहाँ जे गठवन्धन गरेपनि त्यसले मुलुुकको हित गर्दैन । कांग्रेस, माओवादी केन्द्र र एमालेमा कुनै भिन्नता छैन । खान पाए सबै एकठाउँ उभिनेहरुको नैतिक, वैचारिक र सैद्धान्तिक धरातल मासिसकेको छ ।
तराई केन्द्रीत भनिएका जसपा र लोसपा लिंगविहीन अवस्थामा छन् । अबको चुनावमा पूर्वमा सिके राउतको जनमत पार्टी र पश्चिममा रेशम चौधरीको उन्नत पार्टीको उदय हुने मण्डलको विश्लेषण छ ।
मण्डलका अनुसार राष्ट्रपति विद्या भण्डारीले विवादित नागरिकता संशोधन विधेयक अब प्रमाणीकरण गर्नेछिन । उनले राजीनामा दिने कुरा हल्ला मात्रै हो त्यो सम्भव छैन ।
निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशम्शेर राणाले महाअभियोग सिफारिस समितिमा बयान दिएर सबैलाई उदाङ्गो पारेर राम्रो काम गरेका छन् । मण्डल भन्छन्, ‘अब राणाले गाउँगाउँ टोलटोल गएर बदमासहरुको पोल खोल्न पर्छ । यसमा सबै नेपालीको साथ हुनेछ ।’
विस्तृत भिडिओमा :